आखिर के हो त नरहरी बुटी ????
१. भूमिका
कोभिड
!!! यो नाम संग अब हामी अभ्यस्त भै सकेका छौ। विश्वका अरु देश जस्तै हाम्रो
मातृभूमि नेपाल लाई पनि यसले आफ्नो वशमा पारिसकेको छ जसबाट निस्किन त्यति सजिलो
छैन । यसैको कारण दोस्रो चरणको वन्दावन्दी खुकुलो भए संगै देश सामान्यकृत हुदै गइ
रहेको छ । जीविकोपार्जन गर्न वा केहि महिना उकुसमुकुस भएका मानिसहरु वाहिर निस्कन
थालेका छन् । नाक र मुखरविन्दु छोप्नु पर्ने मास्क फेरी चिउड़ो सजिन थालेको छ । बजारमा भिडभाड पुरानै अवस्थामा आउन थालेको छ ।
कोभिडको खतरा अजै नसकिएपनि अर्थतन्त्र चलायमान बनाउन खुकुलो व्यवस्था बनाईएको कुरालाई
आम मानिसहरु अवमुल्यन गरि कोभिड सकिए जसरि निश्फिकरी हिड्न थालेका छन् । राजनीति गर्ने हरुले आफ्नो जागिर बचाउन र दुनो सोज्याउनै तल्लिन छन् । नेपालमा सरकार गठनको
म्युजिकल चेयर सुरु भएको छ। रमितेहरु
बडो गज्जबले थपडी बजाउदै छन् ।
राजनीतिलाई जागिरको रुपमा लिने हरुको लागि उल्लासमय वातावरण छ ।राजनीतिक कवड्डी चली रहेको अवस्थामा मैले पनि
कोभिडलाई पहिले जसरि गम्भीर रुपमा लिन छोडी सकेको थिए । घर मै सामान्य रुपमा बसी
विभिन्न ठाउँका अनलाइन क्लास लिदै बेला बेला शब्जी र घरायसी सामान लिन बाहेक बाहिर
निस्कने गरेको चै थिएन । तर खै कहाँबाट आयो र मलाई कोभिडले एउटा अनुभव दियो ।
पूर्णतय निको नभए पनि लगभग यसलाई जितीसकेको छु । त्यसैले यो मेरो लेखमा केहि लेख्ने जमर्को गरेको छु । कोभिडको अनुभव
भन्दापनि नेपालमा हाल यसको निराकरणको लागि प्रयोग भै रहेको एउटा वनस्पतिको बारेमा
उल्लेख गरेको छु जसको नाम हो नरहरी बुटी । वुवाको साथी मार्फत पाइएको यस वनस्पति
हामीले पनि प्रयोग गर्यौ । पाकेको केरामा यसलाई बेरेर सुप्लुक्क निलेर यसको प्रयोग
गारियो । मलाई प्रयोग गर्न त मन थिएन तर उहालाई कोभिड हुँदा यसको प्रयोग गरे पछि
राम्रो भएको सुनेर चोटी ट्राइ
मारियो । वैज्ञानिक तथ्य नभए पनि
धेरै नेपालीहरुले यसको प्रयोग गरेका छन् । त्यसैले अव यसको सहि विश्लेषण र अनुसन्धान पनि हुन जरुरि छ जसले
गर्दा आफूखुसी प्रयोग गर्ने परिपाटीलाई निरुत्साहित गर्न सकिन्छ ।
२. नरहरी
बुटीको परिचय
मेक्सिकन चिया पनि भनिने नरहरी बुटीको वानस्पतिक नाम Chenopodium
ambrosionides वा Dysphania
ambrosionides हो । Annotated Checklist of
flowering plants of Nepal भन्ने
कितावमा यसलाई रातो बेथे भनिएको छ । प्रजातिको हिसावले यो वनस्पति हामीले खाने वेथेको साग संग मिल्दो जुल्दो छ । यो एक वार्षिक र बारहमासी बहुमुखी जडिबुटी हो जुन १ मिटर भन्दा उचाईमा बढ्दछ र जसलाई गन्धयुक्त झुसले छोपेको हुन्छ हुन्छ।
३.
नरहरी बुटीको प्रयोग
विभिन्न
अध्ययनहरुलाई केलाउदा यस जडिबुटीलाई चिया, पोल्टिस र इन्फ्युजन बनाएर सुन्निएको
समस्या र फोक्सोको संक्रमणमा औषधिको रुपमा प्रयोग गरिन्छ । यसको साथै दुखाई कम गर्न र जुका मार्न पनि प्रयोग
गरिन्छ । आयुर्वेद अनुसार यस्को पत्र , पन्चाङ प्रयोग गरिन्छ । यस्को प्रयोग अग्निदीपक,
पाचक, रुचुकारक, शुक्र र बल वर्धक को लागि गरिन्छ ।
उत्तर अमेरिकाको विभिन्न देश हरुमा विउ लाग्नु भन्दा अगाडी संकलन गरि यसको पातलाई सब्जी, जडिबुटी, र हर्बल चियाको रूपमा प्रयोग गरिन्छ। यसको सुगन्धलाई कागती, सेवरी र पुदिनासँग पनि तुलना गरिएको छ। परम्परागत रूपमा स्वाद र यसको एन्टिफ्लेन्टुलेन्ट गुणहरूले गर्दा कालो सिमीहरूसँग प्रयोगको अलावा अन्य मेक्सिकन भान्साहरुको स्वाद लिन पनि प्रयोग गरिन्छ ।
“प्लान्ट्स एन्ड पीपल अफ नेपाल” नामक कितावमा सुत्ने बेलामा यसको बिउको धुलो पेटको जुका मार्नका लागि प्रयोग गर्न सकिने कुरा उल्लेख छ । ‘यसलाई अल्सरका लागि समेत उपयोगी मानिएको पाइन्छ । यसैगरी यो टनिकका रुपमा प्रयोग गर्न सकिने जनाइएको तर यसबारे अनुसन्धान र विकास भएको आधिकारिक प्रमाण भेट्न सकिएन । केहि अध्ययन हरुमा यसलाई Antispasmodic र Anthelmintic भनिएको छ । यस्को प्रयोग हिस्टेरिया तथा स्नायु प्रणाली को अन्य समस्या गर्न सकिन्छ भन्ने कुरा केहि जर्नल आर्टिकलमा उल्लेख गरिएको पाइयो । त्यसै गरि बीउले peptic Ulcer मा राम्रो गर्ने पनि भनिएको छ । केही जनावरहरुमा गरिएको अन्य अध्ययनहरुमा यसको immunomodulatory effect रहेको उल्लेख छ । यसको सेवन गरेका मानिसहरुलाई कुनै पक्ष्यमा केहि राहत दिएको हुन सक्छ तर प्रमाणित नभई आफु खुसि प्रयोग गर्दा त्यो घातक हुन सक्छ ।
३. यसको नकारात्मक असर
यसको तेलमा ascaridole हुने हुनाले अधिक सेवन गर्दा मान्छेको मृत्यु पनि हुन सक्छ ।त्यसै गरि अन्य लक्षणमा पीडा, बान्ता र पखालाको साथ गम्भीर ग्यास्ट्रोएन्टेरिटिस पनि हुन सक्छ।
एलबिनो मुसामा १२.३१ देखि ३१.८९ ग्राम प्रति केजीको दरले यसलाई खुवाउदा फोक्सोमा समस्या, पेटको म्यूकोसल सतहमा मेटाप्लास्टिक परिवर्तन र मृगौलाको ट्युबल्सको नेक्रोसिस जस्ता समस्या हरु पनि देखियो ।
यसले सुझाव दिन्छ कि लामो समय सम्म यस बोटलाई प्रयोग गर्दा सावधानी अपनाउनुपर्दछ । किनभने यसको पात को aqueous extractsले कलेजो बिगार्ने देखिएको छ । त्यसै गरि chronic toxicity study मा यो सुरक्षित देखिएको छैन । यसले अमाशय को mucosal layer मा समस्या र मृगौला मा खरबी ( glomerular damage) गरिएको देखिएको छ । अझ कोरोनामा यसको सम्भावित प्रयोग सम्वन्धि अध्य्यन भएको देखिदैन ।
४. कृषिमा यसको प्रयोग
यसको तेलमा टर्पेन यौगिकहरू हुन्छन् जसले गर्दा यसमा प्राकृतिक कीटनाशक क्षमता हुन्छ। एस्कारिडोल हुने हुनाले यसले आफ्नो वरपर अन्य बोटबिरुवा बढ्नु दिदैन। डिस्फेनिया एम्ब्रोसियोइड्समा केवल टर्पेन यौगिकहरू मात्र हुदैन, यसले नजिकैको बोटहरूलाई आंशिक सुरक्षा प्रदान गर्दछ । यसको गन्धले किरा हरुलाई टाढा भगाउन सहयोग गर्छ साथै यसको सानो फूलहरूले केहि सिकारी बारुला लाई आकर्षित गर्न सक्छ।
५. रसायनिक तत्वहरु
यसको तेलमा एस्कारिडोल (५०% सम्म), Limonene, p-cymene र थोरै मात्रामा अन्य मोनोटर्पेन्स र त्यसबाट बनेका तत्वहरु (α-pinene, myrcene, terpinene,thymol, र trans- isocarveol) हुन्छ। Ascaridole केहि मात्रामा विषाक्त र तीखो हुन्छ भने मिठो स्वाद हुदैन । युरोप वा एसियामा भन्दा एस्कारियाडोल मेक्सिकोमा हुने बोटमा कम हुन्छ ।
६. अन्त्यमा
हुन त सामाजिक संजालमा नरहरी बुटीको प्रयोग सम्वन्धि विभिन्न
दावीहरु आएका छन् । कोभिडको दोस्रो लहर बढे संगै यसको प्रयोगमा व्यापकता आएको छ । हाम्रो परिवेशमा कोभिडको
असर, यसबाट वच्न गर्न सकिने उपाय र उपचार पद्दति लगायतका कुरामा
सम्वन्धित पक्ष्यले
कुनै
अनुसन्धान सुरु हुन त् के , चासो सम्म देखाएका छैनन् जसले गर्दा जनमानसले
यस्ता अपुष्ट दावीहरु प्रयोग गर्न विवश छन् । कोभिड त भर्खर आएको रोग हो
, आयुर्बेदका ज्ञाताहरुका अनुसार यो वनस्पति अरु रोगको लागि पनि
खासै प्रयोग भएको छैन ।
नेपाल सरकार, स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले
‘नेपालमा कोभिड–१९ को रोकथामका लागि तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक
चिकित्सा सम्बन्धी निर्देशिका’ जारी गरेको छ। जसनुसार रोग प्रतिरोधात्मक क्षमताको बढाउन तुलसीको पात,
सुठो, मरिच, दालचिनी, कालो किसमिसलाई खस्रो धुलो पारी २३ ग्रामको
मात्रा बनाई १
कप उमालेको
पानीमा मिसाएर गुड र कागतीको
रस हाली चियाको रुपमा दिनको एक वा दुई पटक प्रयोग गर्न
सकिन्छ । सोहि विभागले जारी गरेको एक सन्देशमा ५ ग्राम गुर्जोलाई आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि
चियाजस्तै पिउन, असुरोको पात र
बेसारलाई १ लिटर पानीमा पकाएर आधा बनाई पिउन, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर
पानीमा पकाएर आधा भएपछि पिउन र तेजपात २ ग्राम, दालचिनी २ ग्राम आधा लिटर पनीमा पकाएर पिउन र
नियमित योग गर्न पनि सुझाइएको छ। ४० पृष्ठ लामो उक्त निर्देशिका आयुर्वेद तथा
वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा
परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले
संयुक्त रूपमा तयार पारेका हुन्। त्यसै गरि निमको पात, तुलसीको पात, घ्यूकुमारी, तितेपातीको पात र फिटकिरीको धूलो प्रयोग गरी
स्यानिटाइजर बनाउन सकिने उल्लेख छ। त्यसबाहेक रोग प्रतिरोधी प्रणालीका लागि
प्रभावकारी योगाशन र प्राणायामहरूको चर्चा गरिएको छ। ४० पृष्ठ लामो उक्त निर्देशिका आयुर्वेद तथा
वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद चिकित्सा
परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस एवम् शिक्षण अस्पतालले
संयुक्त रूपमा तयार पारेका हुन्।
गुर्जो, नरहरी बुटी या अन्य कुनै औषधीय वनस्पतिहरु अधिक प्रयोग गर्दा लाभ भन्दा पनि हानी हुन्छ । कोरोना भाइरसको उपचारको लागि यस वनस्पतिको अधिकारिक जानकारी कतै भेटिएन । केवल आफूखुसी गरिएका दावी चै पक्कै भेटियो । यस वनस्पतिमा केहि औषधीय गुण रहेको चै विभिन्न अध्ययन हरुले देखाएको छ । तसर्थ गहन रुपमा अनुसन्धानको आवस्यकता रहेको देखियो । हालको लागि सरकारले भ्याक्सिनको सर्वसुलभ उपलब्धताको ग्यारेन्टी गर्दै वैकल्पिक उपचार पद्दतिमा पनि अनुसन्धान र विकासलाई प्राथमिकता दिनु पर्ने देखिन्छ ।
5 Comments:
जानकारीमूलक लाग्यो
thank you sir.
Nice information Sir.:)
Informative sir .
It was insightful read sir.
Its really informative. thank you sir
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home