Sunday, July 5, 2020

कोभिड -१९ को परिवेशमा पर्यावरणीय कृषि मार्फत दिगो खाद्य प्रणाली


१. भूमिका
कोभिड-१९को रुपमा आएको स्वास्थ्य संकटले आर्थिक चुनौतिको साथै खाद्य र पोषण सुरक्षामा दुस्प्रभाव पारि सकेको छ । केही हफ्ताको अन्तरालमै यसले नेपाल मात्र नभई विश्वव्यापी रुपमै खाद्य प्रणालीमा अन्तरनिहित जोखिम, कमजोर पक्ष र असमानताहरू छर्लंग पार्यो ।क्षणिक रुपमा केहि मानिसहरु सामाजिक संजालमा विभिन्न किसिमका व्यञ्जनहरू बनाउँदै पोस्ट गर्न भ्याएभने केहि मानिसहरु घरको बरण्डा, अघि वा पछि रहेको खाली जग्गामा फुलको सट्टा तरकारी उब्जाउँन सोचिरहेछन्। तर चामल,दाल,फलफुल,तरकारी लगायत अन्य खाद्य सामाग्रीको लागि भारतसंग आश्रित हाम्रो देशले अब आउने दिनमा कसरि आफ्नो माग अनुसारको उत्पादन गर्न सक्छ भन्ने कुरा विचारणीय छ ।यसै पनि हाम्रो खाद्य प्रणाली दशकौं देखि चुलेसीको धारमा रहेको छ।भोकाएका बच्चाको पेटमा उठेका ज्वालाहरु शान्त हुन नपाउदै भारतमा खाद्यान्न निर्यातमा लाग्न सक्ने प्रतिवन्ध, रोजगारी गुमाएका श्रमिकहरु र घट्दै जाने रेमिटेन्सले पक्कै पनि आउदा दिनहरु साजिला छैनन् ।यस्तो परिप्रेक्षमा महामारीको समयमा धनि र बलियो भनिएका राज्यहरु समेत हायल कायल रहेको अवस्थामा संसारको गरिव देश मध्येको नेपालको अस्थिर राजनीति र कम्जोर राज्य प्रणालीले खाद्य असुरक्षा र भोकमरीको सम्भावना र असफल रास्ट्र हुने खतरा रही रहन्छ।

२.पर्यावरणीय कृषिको परिचय
चित्र :  पर्यावरणीय कृषि भनेको विज्ञान, आन्दोलन र असल अभ्यासको त्रिवेणी हो


पर्यावरणीय कृषि भनेको विज्ञान, दिगो प्रणालीको अभ्यास र सामाजिक आन्दोलनको त्रिवेणी हो । विज्ञानको रुपमा यसले कृषि पारिस्थितिक प्रणालीमा हुने जैविक अन्तरक्रियाको अध्ययन गर्दछ, अभ्यासको रूपमा यसले दिगो र स्थिर खेती प्रणाली निर्माण गर्छ र आन्दोलनको रूपमा, यसले खाद्य संप्रभुता स्थापित गर्न कृषिको बहु आयामिक भूमिकाहरु अनुसरण गर्दछ। यस क्रममा कृषिले विज्ञानका विभिन्न शाखाहरु संग अन्तरक्रिया पनि गर्दछ जुन तलको चित्रमा देखाईएको छ।


चित्र : पर्यावरणीय कृषि र अन्य विज्ञानको अन्तर निहित सम्वन्ध


पर्यावरणिय कृषिको उद्देश्य वातावरण संरक्षण, उत्पादनका लागि आवश्यक प्राकृतिक संसाधन (पानी, माटो, जैविक विविधता, आदि)को दिगो नवीकरण सुनिस्चिता, गैर नवीकरणीय र रसायनिक स्रोतहरूको कम प्रयोग गर्दै कृषक र उपभोक्ताको स्वास्थ्यमा सुधार गर्नु नै हो ।यसका फाइदाहरु निम्न लिखित बुंदाबाट बुझ्न सकिन्छ।

दृष्टिकोण
फाइदाहरु
वातावरणिय
१.प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्दछ
२.पारिस्थितिक पदचिह्न घटाउन र कृषिकर्मले गर्ने प्रदूषण कम गर्न सहयोग गर्दछ
३.माटोको क्षइकरण र मरुभुमिकरण हुन दिदैन 
४.माटो प्रकार र पारिस्थितिक सन्तुलनको राम्रो व्यवस्थापन गर्दछ
५.वातावरण र  पर्यावरणमा दबाब कम गर्दै सम्पूर्ण जीवको रक्षा को लागि काम गर्दछ
६. जलवायु परिवर्तन र हरित गृह ग्यास उत्सर्जनमा कमि ल्याउछ
आर्थिक
१ . कृत्रिम रासायनिक सामग्री र खनजोत , झार नियन्त्रण, आदिको प्रयोगसँग सम्बन्धित लागत घटाउछ
२.स्थानीय सामग्रीको अधिकतम उपयोगमा केन्द्रित हुन्छ
३. पर्यावरणिय उत्पादनले राम्रो मूल्य र खरीद प्राथमिकता पाउछ
४. कृषि उत्पादन र  आर्थिक गतिविधिको स्थायित्व हुन्छ
५. गरिबी निवारणमा सघाउ पुर्याउछ
सामाजिक
१.मात्रा र नियमितताको हिसाबले खाद्य सुरक्षामा सुधार हुन्छ
२. उत्पादनहरु पोषणयुक्त र स्वादिलो हुन्छ
३. रसायनको कम प्रयोगले किसान र उपभोक्ताको स्वास्थ्यमा सुधार हुन्छ
४. बर्ष भरि नै स्वच्छ, बिबिधता युक्त, आफनो रहनसहन र  रितिरिवाज अनुसारको खाना र अन्य सामाग्रीहरुको उपलब्धताले कृषकहरुले परनिर्भरता कम गर्न सक्छन्
५.यसरि आएको फाइदाहरु सामाजिक विकाश मा खर्च गर्न सकिन्छ
६.स्थानीय स्रोत र सिपहरु अनुकुलन को लागि प्रयोग गर्न सकिन्छ
७. महिला सशक्तिकरण र महिला को कार्य बोझ मा कमि ल्याउछ
८. बिउ, वाली, जैविक बिबिधता र प्राकृतिक श्रोत साधन मा आफ्नै नियन्त्रण हुन्छ

३. कोभिड-१९ ले खाद्य प्रणालीमा परेको असरहरु
तत्कालिन असरहरु
१. धेरै देशहरुमा कोरोना नियन्त्रण गर्न गरिएको वन्दावन्दिले किसानहरू, खेतमा काम गर्ने मजदुरहरू, कृषि सेवा प्रदायकहरू, अधिकारीहरू, आपूर्तिकर्ताहरू, प्रशोधनकर्ताहरु र खाद्य प्रणालीमा रहेका अन्य कलाकारहरूले आफ्नो नियमित काम गर्न असमर्थ भए।जसले गर्दा समयमा विउ रोप्न, किटनाशक प्रयोग गर्न ,फसल काट्न ,वाजारिकरण गर्न र अन्य गतिविधि गर्न समस्या पैदा गर्यो।
२. यातायात र बजार र सम्बन्धित अन्य सेवाहरू अवरूद्ध हुँदा फलफूल र तरकारीहरू जस्ता चाडै कुहिने उत्पादन गर्ने किसानहरू दयनीय अवस्थामा पुगे।
३. खाद्यान्न उत्पादनलाई आवश्यक सेवाको रूपमा तोकिएको मुलुकमा किसानहरूले बजारमा पहुँच कायम गर्न सकेका छन् र त्यहाँ पौष्टिक खाना अझै पनि उच्च मागमा छ ।
४. उत्पादनलाई सहयोग गर्ने सार्वजनिक सेवाहरू ( विस्तार, प्रशिक्षण, समन्वय बैठकहरू, क्षेत्र भ्रमण , कीट अनुगमन र निगरानी ) महामारीको समयमा रोकिन पुगे ।पहिले नै थोरै अनुगमन हुने नेपाल जस्ता धेरै विकासोन्मुख देशहरूमा महामारीको कारण यी क्षेत्रमा राज्यको बजेट र यात्रा सीमितता हुँदा नकरात्मक प्रभाव पार्नेछ।
५. क्षेत्रीय सहयोग र सिमा क्षेत्रमा हुने छिमेकी देशहरुको संयुक्त कीट र रोग अनुगमन र नियन्त्रण गतिविधिहरु पनि प्रभावित भएको छ। छिटो फैलन सक्ने सलह, फौजी किरा जस्ताको सन्दर्भमा यो चिन्ताको विषय हो । किरा र रोग नियन्त्रणका उपायहरू लागू गर्न हुने कठिनाइहरूको परिणामले बाली उत्पादनमा ठूलो क्षति हुनेछ। यसले खाद्य सुरक्षामा थप खतरा निम्त्याउने छ ।

मध्यम र लामो समय पर्ने प्रभावहरु
१. सहि समयमा रोप्न वा उत्पादन गर्न नसक्दा वा आवश्यक क्षेत्र निरीक्षण नहुदा गुणस्तर बीउको अभाव हुन सक्छ। यो अभाव अन्य सामाग्रीमा पनि पर्न सक्छ ।
२. अनुसन्धान र विकासका  गतिविधिहरूमा हुने अवरोधहरुले नया प्रविधि र जातहरुको विकास अवरुद्द हुँदा वालीनालीलाई सुधार गर्ने महत्वपूर्ण कार्यहरुमा नोक्सान निम्त्याउँछ।
३. लामो समयसम्म यथास्थिति रहदा किसानहरुको खरिद क्षमतालाई असर गर्ने छ । यसैगरि धेरै व्यवसायहरू ध्वस्त हुन सक्छ । महामारी फैलिसके पछि हुने क्षतिको लेखाजोखा त झन् हुन सकेको छैन। 
४. कोरोनाको कारण खाद्य प्रणालीमा परेको जोखिमका आयामहरु
१. औधोगिक कृषि र अव्यवस्थित द्रुत विकास मार्फत हुने प्राकृतिक वासस्थानको क्षतिले भाइरस र व्याक्टेरियाहरूको अवस्था परिवर्तन गरि फैलावटको आधार तयार गरेको छ । मानव र पारिस्थितिक प्रणालीको टकरावले जटिल गतिशीलता देखापर्छ जसको परिणाम स्वरुप सामाजिक ,आर्थिक र संरचनात्मक परिस्थितिहरुको स्खलन साथै महामारीको सम्भावना समेत निर्माण गर्दछ । थोरै ठाउँमा संकुचित गरि अधिक जनावरहरु राखिनु ,आनुवंशिक विविधता कायम नगरिनु, छिटो द्रुत गतिमा जनावरको कारोबार गरिनु सरसफाईमा ध्यान नदिनु , पशुपालन उत्पादनको विस्तारको लागि प्राकृतिक बासस्थान बिखण्डनको कारण र जंगली जनावरको चोरी शिकारीको कारणले गर्दा रोग र महामारी बढाउन सहयोग गर्छ । त्यसै गरि मानव(वन्यजन्तु अन्तरक्रिया विस्तार हुँदा त्यस्ता जनावरहरुबाट हुने संक्रमण बढेको छ। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार जलवायु परिवर्तन ,पर्यावरणीय प्रकोप र भूमि प्रयोग परिवर्तन, वन फँडानी, जैविक विविधता नोक्सान र आवश्यक सुरक्षात्मक अवरोध हटाउँदा रोगको फैलावट बढेको छ। एचआईभी र एड्स, इबोला, वेस्ट नाइल भाइरस, सार्स, र लाइम रोगलगायतका महामारीहरु  वातावरणीय परिवर्तन र पारिस्थितिक प्रणालीमा गराईएको गडबडीको कारणले भएका हुन् । तिनीहरू जंगली वा पाल्तु जनावरबाट उत्पन्न भएका हुन् । विश्व खाद्य संगठनले जनाए अनुसार सन् १९४० को दशकदेखि मानिसमा देखा परेका संक्रामक रोगहरूमध्ये ७० % भन्दा बढीको स्रोत कुनै न कुनै जनावर रहेको छ । यद्यपि कोभिड-१९ को स्रोत ठ्याक्कै पत्ता नलागेपनि वन्यजन्तुमा रहेको रोगहरू अर्को मध्यवर्ती स्रोत जनावरहरुको माध्यमबाटै भएको जस्तो देखिन्छ।
२. अवरोधहरुले खाद्य आपूर्ति श्रृंखलामा अन्तरनिहित कमजोरीहरूलाई प्रकट गर्दैछ। यो लेख तयार पार्दाको समयमा खाद्य आपूर्ति शृंखला विफल भै चरम मूल्य अस्थिरता चाँही भैसकेको छैन ।यद्यपि, कोरोनाले गर्दा धेरै देशहरूमा मानिस र सामानहरूको आवागमनमा प्रतिबन्ध (लकडाउन)ले स्थानीय, क्षेत्रीय र वैश्विक आपूर्ति श्रृंखलामा ठूलो तनाव सिर्जना गरिसकेको छ ।कोभिड-१९ ले खेतमा काम गर्नेहरूको यथार्थ अवस्था साथै विश्वव्यापी खाद्यान्न आपूर्तिको अनिश्चितताको बारेमा पनि प्रकाश पारेको छ।कृषकहरुले खाद्यान्न आपूर्तिका लागि काम गरिरहेका छन् र पनि प्रमुख स्वास्थ्य जोखिमहरूको सामना गर्न विवश छन्।नेपाली परिवेशमा साना किसानहरुले शारीरिक दूरी र स्वास्थ्यसम्बन्धी अभ्यासहरू प्रयोग गरि खाद्य प्रणालीमा सहभागी हुन कठिन छ।त्यसैले धेरै ठाउँमा उनीहरुले सुरक्षात्मक उपकरणहरू विना काम गर्दछन् ।स्वास्थकर र भिडभाडयुक्त वसाई ,जानकारीमा पहुँचको अभाव र अन्य औपचारिक र अनौपचारिक अवरोधको कारणले गर्दा प्रवासमा काम गर्ने नेपाली कामदारहरु समेत उच्च जोखिममा रहेका छन् ।
३. संसारभर लाखौं मानिसहरू भोक, कुपोषण र चरम गरीबीको रेखा मुनि बाँचिरहेका छन् जसले गर्दा अव हुने विश्वव्यापी मन्दीमा यो वर्ग अति नै असुरक्षित छन्। कोविड-१९ सुरु हुनु भन्दा अघि संसारभर ८२ करोड कुपोषणको शिकार भैसकेको र २ अरब मानिसहरूले खाद्यान्न असुरक्षाको सामना गरिरहेका अध्ययनले देखाएको छ ।यसबाट कोरोना प्रभावको अव पर्ने असर आँकलन गर्न सकिन्छ।नेपाल लगायत तेस्रो विश्वमा लाखौं मानिसहरु गरिबीको रेखा मुनि खतरापूर्ण  जीवन बिताइरहेका छन् । भौतिक दुरी, आपूर्तिमा अवरोध, बन्द आयस्रोत र खाद्यान्न मूल्यको वृद्धिले इनिहरुको जीवनयापनमा आर्थिक र सामाजिक अवरोध शृजना गरेको छ।
५. अबको मार्गचित्र 
सीमित खानपान गराईएको औद्योगिक पशुपालनमा एभिएन इन्फ्लूएन्जा र इन्फ्लूएन्जा जस्ता बिभिन्न भाइरसहरूको समस्या हुन सक्छ।यी औद्योगिक कार्यहरूमा हजारौं कुखुरा, सुँगुर, गाईहरू एक ठाउँमा राख्दा कैद,हाइड्रोजन सल्फाइड,अमोनिया, उच्च आद्रता र उत्पन्न गर्ने फोहरले जनावरहरूलाइ भाइरस संक्रमणको जोखिममा पुर्याउछ।यसको अलावा भाइरसहरुले अझ विषाक्त र संक्रामक प्रकारहरू विकास गर्न सक्दछन्। लगातार परिवर्तन भइरहेका भाइरसहरूले अर्को मानव महामारी निम्त्याउन सक्छन्। अप्रिल २०००मा त्यस्तै भयो जसमा इन्फ्लूएन्जाको एक नयाँ प्रकार विकास भयो जसलाई हामी ज्ज्ञल्ज्ञ वा स्वाइन फ्लू भनेर चिन्छौ।  
कोभिड-१९ को रुपमा आएको महामारीले विश्व कै राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय र खाद्य क्षेत्रलाई असर गरिरहेको छ।यो बहु-आयामीक खतरालाई शहरहरूमा मात्र नभई ग्रामीण क्षेत्रहरूमा  रहेका सबैभन्दा कमजोर र सीमान्तकृत समूहहरूको सुरक्षा गर्न पर्याप्त तयारी र प्रतिक्रिया आवश्यक छ।यसबाट उत्पन्न अवस्था लामो समय सम्म रहदा खाद्य प्रणाली संक्रमणको खतरा हुन्छ।स्वास्थ्य र जलवायु संकट संगसंगै सम्भावित खाद्यान्न संकट् लगायतका प्रकोपहरुको उचित निराकरण गर्न दिगो उपाय अनुसरण गर्नुपर्छ ।
कोभिड-१९ को कारण भएको वन्दावन्दी र अवरोधहरूले आवश्यक वस्तु र सेवाहरूमा व्यक्तिहरूको पहुँचको नाजुकता देखाइसकेको छ।स्वास्थ्य प्रणाली र खाद्य प्रणालीहरूमा रहेको कमजोरी र असमानताहरू  प्रकाशमा आएका छन्।निजीकरणको कारण थिलथिलो भएका खाद्यान्न र स्वास्थ्य क्षेत्रमा वाँकी रहेका  सार्वजनिक सेवाहरुले विषम परिस्थितिमा पनि उत्कृस्ट कार्यहरु गरिरहेका छन् । भाइरसद्वारा प्रणालीमा देखाइएको छिद्रहरु प्रदुषण, जलवायु परिवर्तन र विश्व राजनीतिमा आउने परिवर्तनले अझ विकराल हुने निश्चित छ।कोभिड-१९ले अहिले पारेको समस्या हाम्रो लागि चिर निन्द्राबाट उठ्ने उपयुक्त समय हो। अहिले देखिएको संकटले होस् वा केहि वर्ष अगाडी भएको नाकावन्दीले हाम्रो वर्तमान खाद्य प्रणालीको झलक देखाई सकेको अवस्थामा नयाँ र लचिलो खाद्य प्रणालीहरू निर्माण गर्न ढिलो गर्न हुदैन।त्यसैले विगतवाट पाठ सिकी लचिलो प्रणालीको निर्माण गरि खाद्य उत्पादन र प्रावधान सुरक्षित गर्न कदमहरू अघि बढाई खाद्य प्रणालीको रूपान्तरण गरि दिगोपनको निर्माण गर्नुपर्छ ।
कोविड-१९को संकट देखा पर्दै गर्दा परिवर्तनको विउलाई नयाँ खाद्य प्रणालीको जगमा परिवर्तन गर्नु  अबको चुनौतीको साथै आवस्यकता पनि हो तत्कालिन समाधान मात्र हैन व्यावहारिक समाधान खोज्न सक्नुपर्छ ।यस सन्दर्भमा, पर्यावरणीय कृषिले परिवर्तित समयमा अनुकुलित गर्दै स्वास्थ्य-सवल समाजको निर्माण गरि प्रकृति र मानव आवश्यकता बीचको सन्तुलन राख्न समेत सहयोग गर्दछ।यो रूपान्तरणले मानव र पृथ्वीको स्वास्थ्यको सबलीकरणमा ठूलो फाइदा र्पुयाउन सक्छ।यसको फाइदा निम्न अनुसारको छ :
·         बासस्थानको विनाशलाई कम गरेर रोगहरूको प्रसार रोक्न सहयोग गर्छ। 
·         भविष्यको आपूर्ति र व्यापार अवरोधहरूमा हुने जोखिम कम गर्छ।
·         खाद्यान्न उत्पादनमा मानिसलाई पुनस् जोड्दै जडान डरको कारण अधिक भण्डारण गर्ने परिपाटी कम गर्छ ।
·         ताजा र पौष्टिक खाना सबैको लागि पहुँचयोग्य र सस्तो बनाउन सहयोग गर्छ ।
·         कृषिमा कार्यरत कामदारको श्रमको सुरक्षा गर्दै उचित र न्यायपूर्ण पारिश्रमिकको वकालत गर्छ साथै उनीहरु मार्फत हुने रोग फैलाउने जोखिमलाई कम गर्दछ।
·         खाद्य सुरक्षा र सम्प्रभुता स्थापित गरि सम्पूर्णको वाच्न पाउने अधिकारको सुनिश्चित गर्छ ।  
पर्यावरणीय कृषि सम्बन्धी दृष्टिकोणले वर्तमान चुनौतिहरूको वातावरणीय र उत्पादकहरूको सुरक्षा गरेर  तत्काल समाधान प्रदान गर्दछ साथै स्थानीय उत्पादनलाई सक्षम बनाएर सबैको लागि स्वस्थ र दिगो खाद्यान्नको प्रत्याभूति गर्दछ । पर्यावरणीय कृषिले जुन सुकै समस्याहरुको स्थानीय समाधानहरू प्रदान गर्दछ साथै  स्थानीय अर्थव्यवस्था र बजारहरूलाई सशक्त गर्दछ जसले गर्दा किसानहरूको जीविकोपार्जन सहज भै जीवन स्तर्म समेत सुधार आउछ।
यस क्रममा पर्यावरणीय कृषि-संवेदनशील नीति र उपायहरू तुरुन्तै अपनाउदै जैविक विविधता संरक्षण, क्षेत्रीय र सामुदायिक खाद्य आत्मनिर्भरता कायम गर्दै मौसमी उत्पादनहरू र स्थानीय प्रजातिहरूलाई प्रबर्द्धन , वातावरण अनुकूल खाद्य उत्पादनलाई बढावा , स्थानीय र विविधीकृत खाद्य प्रणालीको श्रीजना गर्न  आवश्यक छ।जसको लागि खाद्य, स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई सम्बोधन गर्न समावेशी र जिम्मेवार शासन प्रणाली स्थापित हुनु पर्छ।
हाल देखिएको कोरोनाभाइरस महामारीले हामीलाई संसारको प्रणालीगत सार प्रकट गरि मानव,पशु, बोटबिरुवा र पर्यावरणीय स्वास्थ्य एक आपसमा जोडिएको आभाष गराएको छ ।कोविड-१९ले हाल अवलम्वन गरिएक पूँजीवादी विकासको तरीकामा पुनर्विचार गर्न र प्रकृतिसंग हाम्रो वर्तमान अन्तरक्रियाको निर्मम समिक्षा गर्न दह्रो झापड हानेको छ ।पर्यावरणीय कृषि एक शक्तिशाली प्रणालीगत दृष्टिकोण हो जसले  हाल व्याप्त  कोरोनाभाइरस महामारीको समयमा कृषि र स्वास्थ्य बिचको सम्बन्ध पत्ता लगाउन सहयोग पुर्याउँछ।
पर्यावरणीय कृषिले ग्रामीण परिवारहरूलाई सामाजिक, आर्थिक र वातावरणीय लाभहरू प्रदान गर्ने साथै  सहरी जनतालाई पोषणको  प्रत्याभूति गर्छ। शहरीकरणले गर्दा बढ्दो मानव जनसंख्याको लागि प्रशस्त, स्वस्थ र सस्तो खाद्यान्नको उत्पादन सुनिश्चित गर्न नयाँ स्थानीय खाद्य प्रणालीहरूको प्रवर्धन गर्न जरुरी छ। यसको लागि तत्काल गर्नुपर्ने साथै मध्यकालीन र दिर्घकालिन उपायहरु तल सविस्तार गरिएको छ।
५.१ साना किसानलाई लक्षित गर्न सकिने कार्यहरु
५.१.१ तत्कालिन रुपमा गर्न सकिने कार्यहरु
·         साना किसानलाई वित्तिय सहयोग गर्ने , ऋणको व्याज घटाउने वा मिनाहा गर्नुपर्छ । 
·         खेतिको लागि आवस्यक बिउ लगायतका अन्य सामाग्री सहज रुपमा उपलब्ध गराउनुपर्छ ।
·         वाधाहरुलाई सहज रुपमा व्यवस्थापन गरि वार्षिक बाली चक्रमा गरिनुपर्ने कृषि कार्यहरू निश्चित समय भित्र सम्पन्न गराउन सहयोग गर्नुपर्छ । 
·         शहरमा श्रम गरिरहेका जनताहरु ग्रामीण क्षेत्रमा फिर्ता हुँदा मानव गतिशीलताको सुरक्षित ब्यवस्थापन गरि खेतीमा आवस्यक श्रमशक्ति सुनिश्चित गर्न र उपयुक्त सुरक्षित प्रविधिको प्रयोग गर्दै उत्पादन, प्रशोधन र ढुवानीको व्यवस्था मिलाउनु पर्छ । 
·         कोरोनाको प्रकोप नसकिए सम्म वितरण तथा विक्री केन्द्रहरुमा भौतिक दुरी कायम गरि सहज रुपमा विक्रीको व्यवस्था गरि साना किसानहरूका लागि खाद्य आपूर्ति श्रृंखलाहरू अझ समावेशी बनाउनुपर्छ।
·         डिजिटल प्रविधिको प्रयोग गरि साना किसान र वितरकलाई नजिकैको शहर र स्थानीय बजारमा रहेको मूल्य र बजार मागहरुको भरपर्दो जानकारी प्रदान गरिनुपर्छ ।
·         विश्वव्यापी रुपमा सोच्नुहोस् , स्थानीय रुपमा कार्य गर्नुहोस् भन्ने नारालाई मनन गर्दै स्थानीय खाद्य उत्पादन र सरलीकृत खाना आपूर्ति श्रृंखलाहरूको वकालत र प्रोत्साहन गर्न उपयुक्त हुन्छ ।
·         शहर केन्द्रित खेती मार्फत उपभोक्ताहरूलाई पौष्टिक फलफूल र तरकारीहरूमा पहुँच स्थापित गरि आपूर्ति श्रृंखला छोटो बनाउनुपर्छ ।
·         कीट,रोग र बालीनालीको स्वास्थ्य निगरानीका लागि स्वचालित प्रणालीहरूको परीक्षण र कार्यान्वयनको प्रत्याभूति गर्न अनुसन्धान , विकास र विस्तारलाई अगाडी बढाउनुपर्छ ।
·         नवीनता कायम गरि डाटा व्यवस्थापन, विश्लेषण, पूर्वानुमान, सूचना र ज्ञान आदानप्रदान, आकस्मिक योजना तर्जुमा र कार्यान्वयन गरि संकटहरूमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन व्यवस्थापन क्षमतालाई सुदृढीकरण गर्नुपर्छ ।
·         किसानहरूलाई छरितो मध्यम प्रयोग गरि वातावरणीय स्वास्थ्य र मानवको सुरक्षा कायम गर्न जैविक कीटनाशक वा अन्य वैकल्पिक विधिहरूको प्रयोग वारे सूचना प्रवाह हुनुपर्छ ।
·         त्यसैगरि सरकारले आफ्ना नागरिकहरुको आपतकालीन अवस्थामा खानाको उपलब्धता पूरा भएको  निश्चित गर्नुपर्छ ।
·         सामाजिक सुरक्षा कार्यक्रमहरू समायोजन र विस्तारको लागि उचित कदम चाल्नुपर्छ ।
·         पोषण सुरक्षाका कदमहरु अझ व्यवस्थित र प्रभावकारी  बनाइ कुपोषणको रोकथाम गर्नुपर्छ।यस क्रममा स्थानीय स्तरमा पाइने पौष्टिक र कम विषादी प्रयोग भएको खाद्यान्नको प्रयोग गर्नुपर्छ।
५.१.२ मध्यकालीन समाधानका उपायहरु
·         कोरोना रुपी प्रकोप शान्त भएपछि भविष्यको तयारी स्वरुप  बाली उत्पादन र संरक्षण प्रणालीको  उपलव्धता सुनिश्चित गर्न हाल प्रचलनमा रहेका वा प्रयोग गर्न सकिने  दक्ष प्रावधानको  मुल्यांकन गरिनु पर्छ।
·         यस्तै महामारी वा अन्य समस्याहरुको प्रतिरोध गर्न र त्यस बाट उठान गर्न सक्ने खालको स्थानीय खाद्य प्रणालीको निर्माण गरिनुपर्छ ।
·         खपत हुने धेरै भन्दा धेरै खाद्य सामाग्रीहरु स्थानीय स्तरमा  उत्पादन गरिनुपर्छ ।
·         त्यसैगरी हाम्रो खानाको स्रोतहरुको पनि विविधिकरण गरिनुपर्छ ।
·         रैथाने वाली र तिनको जातहरुको संरक्षण  र प्रयोग लाई बढावा दिनुपर्छ ।
·         हाम्रो समाजमा लामो समय देखि रहेको तर हेला गरिएको पारम्परिक ज्ञान र प्रविधिको रेकर्ड र प्रमाणीकरण गर्दा भविस्यको अनुसन्धान र विकासको लागि पनि मार्ग प्रशस्त गर्न सकिन्छ ।
५.१.३ दिर्घकालिन समाधानका उपायहरु
·         दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने क्रममा सरकार, दात्री निकाय र विकासका अन्य साझेदारहरुले संस्थागत र मानव क्षमताहरूको विकास, सवालिकृत बाली उत्पादन र मूल्य श्रृंखलाको निर्माण संगसंगै पारिस्थितिक प्रणाली मैत्री सक्षम वातावरण श्रीजना गर्न आफ्नो सम्पूर्ण ध्यान लक्षित गर्नुपर्दछ।
·         वर्तमान र भविष्यको खेति प्रणालीले खप्ने चुनौतिहरूको सामना गर्न पर्यावरणीय सिद्धान्तहरू लागू भएको र सम्भव भएसम्मको पर्यावरणीय प्रक्रियाहरू प्रयोग भएको कृषि अनुसन्धान र विकासमा धेरै भन्दा धेरै लगानी गर्नुपर्ने हुन्छ ।
·         मानव र प्रकृतिको नकारात्मक अन्तरक्रिया बाट पार पाउन वातारवरण मैत्री अनुसन्धान र विकास गर्दै उपयुक्त अनुकुलन र न्यूनीकरणका उपायहरुको प्रयोगले राम्रो र पौष्टिक उत्पादन ,उचित मूल्य र एकीकृत रोग र कीट व्यवस्थापन गर्न सकिन्छ ।
·         सन् २०१९ को अन्त्य देखि विश्व भर सुरु भएको यो संकट्लाइ विज्ञहरूले वैश्विक आवास र जैविक विविधताको नोक्सानीसँग जोड्दैछन्।युनिभर्सिटी कलेज लण्डनका अन्वेषकहरूले पत्ता लगाए अनुसार मानवले बासस्थान क्षय गरि अत्यधिक शोषित र अवैध कारोबार गरिएका जंगली जनावरको प्रजातिहरूले बढी भाइरस बोक्ने सम्भावना छ जसले मानवलाई संक्रमित गर्न सक्छ। यसको दिर्घकालिन समाधान खोज्न पारम्पारिक तरिकामा मात्र भर परेर हुदैन।यस्तै फरक तरिकाबाट मानव र प्रकृति विच सन्तुलन कायम गरि खाद्य प्रणालीको निर्माण गर्न पर्यावरणीय कृषिको बढावा गर्नुपर्ने हुन्छ ।
६. पर्यावरणीय कृषि नै किन रोज्ने ?
·         भविष्यमा चुनौतिहरू सामना गर्न सक्षम हुने पर्यावरणीय कृषि वैज्ञानिक सिद्धान्तमा आधारित छ जसले उत्पादन र पारिस्थितिक सेवाहरू प्रदान गर्दा उच्च स्तरको विविधता र लचिलोपन प्रदर्शन गर्दछ।
·         यो प्रणालीले खेतको वरपरका परिदृश्यहरू पुन स् स्थापनाको  प्रस्ताव गरेको छ, जसले प्राकृतिक कीट नियन्त्रण, माटो र पानी संरक्षण, जलवायु नियमन र जैविक नियमन गरि पारिस्थितिकीय पद्दतिलाई  समृद्ध बनाउँछ ।
·         यो प्रणालीले स्वस्थ पशु उत्पादन सुनिश्चित गर्दछ र महामारीलाई बढ्न दिदैन।यो प्रणालीमा एन्टिबायोटिक प्रयोग गरिदैन, किनभने गाईवस्तुहरूको आहार स्वस्थ माटोबाट आएका प्राकृतिक खानाहरूमा आधारित हुन्छ , जसले गर्दा पशुहरूको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ। स्वास्थ्य पशु उत्पादनले प्रतिरक्षा प्रणालीमा सुधार गरि स्वास्थ्य जीवनको आधारशिला खडा गर्दछ।
·         पर्यावरणीय कृषिले साना किसानहरूको उत्पादन क्षमताको पुनःस्थापनामा योगदान पुर्याउछ साथै  परम्परागत कृषि उत्पादनमा वृद्धि गरि कृषि जैविक विविधतामा सुधारको साथै खाद्य सुरक्षा र वातावरणीय अखण्डतामा सकारात्मक प्रभाव पार्छ।
·         पर्यावरणीय कृषि धेरै समुदायहरूको खाद्य सार्वभौमिकताका लागि महत्वपूर्ण छ, विशेष गरी साना किसानहरूले विश्वको कृषि योग्य जमिनको ३०% मात्र ओगटेका छन् तर धेरै देशहरुमा कुल उत्पादनको ५० देखि ७० प्रतिशत उत्पादन गर्न सफल भएका छन् । 
·         पर्यावरणीय कृषिको प्रयोग गरेर शहरहरूमा ताजा फलफूल, तरकारीहरू र पशुहरूको उत्पादन गरि स्थानीय स्तरमा परिवारहरूको लागि खाद्य र पोषणको लागि योगदान पुर्याउन सकिन्छ।संकटको यो समयमा स्थानीय रूपमा  गरिने उत्पादनले निर्माण गर्ने खानाको पहुँचको रणनीतिक महत्व छ ।
·         पर्यावरणीय कृषि प्रयोग भएका स्थानीय फार्महरूमा उत्पादित पौष्टिक बोटबिरुवा र पशुहरूको उत्पादन खाएर हाम्रो प्रतिरक्षा प्रणालीलाई सुधार गरि कोविड १९ जस्ता संक्रामक भाइरसहरू लगायत अन्य खतराहरुको प्रतिरोध गर्ने हाम्रो क्षमतामा सुधार हुन्छ।
·         यो संसारमा विशेष गरी जलवायु परिवर्तन र महामारी जस्ता अन्य अशान्तिको खतरामा छ।यो परिप्रेक्षमा  साना किसानहरूको उत्पादक क्षमताको अनुकूलन, र सुधार गर्न कृषिकोष विस्तारको आवश्यकता छ। पर्यावरणीय कृषिमा स्थानीय रुपमा ग्रामीण र शहरी समुदायहरूको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सक्ने सम्भाव्यता छ ।
·         पर्यावरणीय कृषि सम्बन्धी दृष्टिकोणले पारिस्थितिक प्रणाली, माटो, हावा, पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा हानिकारक प्रभावहरूलाई कम गर्दै वाली र पशुपालनको उत्पादकत्व वृद्धि र सम्भार, सामाग्रीहरुको कुशलतापूर्वक  पुन: प्रयोग र माटो को उर्वरता कायम  गरि  हितकारी जैविक अन्तरक्रिया  निर्माण र  ब्यबस्थित गर्न सहयोग गर्छ।
·         व्यवस्थित वाली चक्र , रासायनिक कीटनाशकको कम प्रयोग गरि कीट र रोगहरुको व्यवस्थापन, कृत्रिम मलको प्रयोग विनै माटोको स्वास्थ्य र उर्वरता बढाउने र दिगो  र सन्तुलित उत्पादनले गर्दा हाम्रो परिवेशमा यो प्रणाली उत्तम छ ।विभिन्न अध्ययनहरुले यो प्रविधि संग सम्वन्धित थप अनुसन्धानको आवस्यकताको संकेत गरेको छ जसको विकास  र विस्तारले गर्दा  कृषकहरूले  उत्पादनमा विविधिकरण को साथै कीरा , रोग मौसमी अवस्था, बजार र अन्य कारकहरू खप्न सक्ने उपयुक्त र लचिलो तरिका प्रयोग गर्न सक्नेछन् ।
७. र अन्त्यमा
कोविड-१९ ले हामीलाई जैविक विविधता सहित प्रकृतिको अनादरपूर्ण व्यवहारको गहन परिणामहरू छन् भन्ने कुरा सम्झना गराएको छ ।आशा छ कोविड-१९ ले सुरु गरेको यो वर्तमान संकटले नयाँ संसारको जग बसाल्न र प्रकृतिसँग सम्मानजनक अन्तरक्रिया सुरुवात गर्न अवसर प्रदान गरेको छ।हालको जटिल परिस्थितिमा अन्य दृष्टिकोणले पनि आशाजनक समाधानहरू प्राप्त गर्न सकिन्छ तर त्यसले साना किसानलाइ भन्दा पनि निजि क्षेत्रलाई बढी फाइदा हुन्छ । हाल प्रयोग भैरहेको विधिको तुलनामा पर्यावरणीय कृषिले थोरै मात्र बाह्य सामाग्री प्रयोग गर्ने हुँदा निजि क्षेत्रको रुचिमा यो प्रविधि पर्ने छैन।तर एउटा किसानको लागत कम गरि दिर्घकालिन फाइदा निर्माण गर्न यो प्रविधि सक्षम छ।त्यसै कारणले किसान र समुदायलाई हित गर्ने यो प्रविधिको अनुसन्धान ,विकास र विस्तार आवस्यक छ । किनभने, अहिलेको कृषिलाई पर्यावरणीय कृषिमा क्रान्तिकारी रुपान्तरण गर्दा ग्रामीण र शहरी सामाजिक आन्दोलनहरू बीचको संगम हुनुको साथै सामाजिक रुपमा  दृष्टिगत, आर्थिक रूपमा व्यवहार्य, वातावरणीय रूपले राम्रो र स्वस्थ कृषिको आधारशिला तयार गर्न सकिन्छ।
न्यायसंगत अर्थतन्त्रका सिद्धान्तहरूद्वारा संचालित समान अवसरहरू सहितको स्थानीय र क्षेत्रीय बजार विकास  गरि यस्ता प्रयासहरूको आर्थिक व्यवहार्यता सुधार गर्नु पर्छ ।यस बिन्दुमा उपभोक्ताहरूले खाद्यान्न छनोट र  खपत भनेको  पारिस्थितिक र राजनीतिक रणनीति हो भन्ने बुझेर स्थानीय उत्पादनलाई छनोट गरि खाद्य प्रणालीमा दिगोपन र लचिलोपना सिर्जना गर्न सक्षम हुन्छन्।सरकारी नीतिहरूमा परिवर्तन गरि कृषिमा रुपान्तरण गरेर साना किसान, प्रकृति र अन्ततः हाम्रो आफ्नै स्वास्थ्यलाई सहयोग गर्न दैनिक छनौट गरेर प्रक्रियालाई गति दिन सक्दछौं।
तथापि, नेपालमा पर्यावरणीय कृषिको क्षेत्र एकदम हेपिएको छ।न त अनुसन्धानको जिम्मा लिएको नेपाल कृषि अनुसन्धान परिषद र न त कृषि विकासको जिम्मा लिएको कृषि विभागमा यस सम्बन्धि काम गर्ने जनशक्तिको कुनै दरवन्दी छ।जसले गर्दा यस क्षेत्रमा हुने अनुसन्धान र विकास एकदम अपर्याप्त छ।हाम्रा विश्व विद्यालय र अनुसन्धानका संस्थाहरु बजेट कटौती र राजनीतिको सिकार भएका छन् जसले उनीहरूलाई अनुसन्धानबाट विमुख गराएको छ भने भएका अनुसन्धान पनि निजी डलरमा भर पर्न बाध्य भएका छन्।
विश्वव्यापी महामारीबाट श्रीजित यस्तो विषम परिस्थितिमा दिर्घकालिन सोच गरि पर्यावरणीय कृषिमा गरिने अनुसन्धान र विकासले हितकारी र आत्मनिर्भर खेति प्रणाली निर्माण गर्नुपर्छ जसले मानव स्वास्थ्य, वातावरण र ग्रामीण समुदायहरूमा परिरहेको हानिकारक प्रभावहरूलाई कम गर्न सकिन्छ।यस क्षेत्रमा गरिने यो सानो प्रयासले भविस्यमा समाज र राष्ट्रले नै ठुलो प्रतिफल लिन सक्छ।
८. सन्दर्भ सामाग्री
Agrisud International. 2010. Agroecology, best practices. Available at http://www.agrisud.org/wp-content/uploads/2013/05/Guide_Anglais.pdf
Blueberries consulting. 2020. Agroecology in times of COVID-19. Available at: https://blueberriesconsulting.com/en/la-agroecologia-en-tiempos-del-covid-19/
FAO. 2020. Sustaianble food production and COVID-19. Avaialable at http://www.fao.org/3/ca8807en/CA8807EN.pdf
IPES Food. 2020. COVID-19 and the crisis in food systems: Symptoms, causes, and potential solutions. Available at http://www.ipes-food.org/_img/upload/files/COVID-19_CommuniqueEN.pdf
PANAP. 2020. #Food and rights now : Advance food sovereignity and agroecology to help address COVID-19 crisis. Available at https://panap.net/2020/04/foodandrightsnow-advance-food-sovereignty-and-agroecology-to-help-address-covid-19-crisis/

4 Comments:

At July 5, 2020 at 10:49 PM , Blogger nepali agriboy said...

Thank you sir for your time to elaborate this issue in best possible way! This is helpful ! We can’t find study material in Nepali language! You did it !

 
At July 6, 2020 at 12:45 AM , Blogger Rajendra Bam said...

Thankyou for arising voice on behalf of agriecoloy and its importantance to deal with the present situation like and mainly it assists to ensure sustainable agriculture system.

 
At July 6, 2020 at 3:50 AM , Blogger Unknown said...

wow this one was worth reading, thank you for sharing sir.

 
At July 6, 2020 at 7:44 AM , Blogger Shilpa Devkota said...

Very informative sir

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home