Saturday, April 9, 2022

नकारात्मकता वेच्ने यो समाज

भूमिका

हाम्रो समाजको वनावट नै यस्तो छ कि कुनै नकारात्मकता सम्वन्धि कुरा भुसको आगो सरि फैलिन्छ । अझ युवाहरुलाई हेर्ने हो भने निराशावादी चिन्तन हावी हुँदा उनीहरुले विभिन्न अप्रिय निर्णयहरु लिन वाध्य भएका छन् । महावीर पुन भन्दा पल र समीक्षा भाइरल हुन्छन् । म सोच सम्वन्धि विशिस्ट जानकार नभए पनि  युवा चिन्तन भएको र युवाहरु माझ अध्यापन गर्ने हुनाले यसका केहि पहेलुहरुलाई यस लेखमा उतार्ने कोशिष गरेको छु ।

नकारात्मकता वा नकारात्मकता सोच के हो?

 नकारात्मकता भनेको अत्यधिक रुपमा  निराशाजनक, असहमत र शंकास्पद हुने प्रवृत्ति हो। यो एक निराशावादी मनोवृत्ति हो जसले सधैं खराव नतिजाको नै अपेक्षा गर्दछ। नकारात्मक सोचले सामाजिक चिन्ता, तनाव, र कम आत्म-सम्मान जस्ता समस्याहरू निम्त्याउछ । यसवाट वच्न सोचमा आमुल परिवर्तन ल्याउन जरुरि छ । "हाम्रा विचारहरू, भावनाहरू, र व्यवहारहरू सबै  एक आपसमा जोडिएका हुन्छन्, त्यसैले हाम्रा विचारहरूले हामीले कस्तो महसुस गर्छौ र व्यवहार गर्छौ  भन्ने कुरामा प्रभाव पार्छ।

बढ्दो महत्वाकांक्षी व्यवहार र समाजको अवहेलनाको कारण युवाहरुमा उच्च जोखिम व्यवहारहरूमा व्यापक वृद्दि हुँदै गएको छ  । यस्ता व्यवहारले युवाहरुमा  प्रतिकूल प्रभाव पारेको छ जसले युवाहरूको समग्र विकास र कल्याणको साथसाथै  तिनीहरूलाई भविष्यको सफलता र विकासबाट रोक्न सक्छ।

स्वभावगतरुपमा आक्रामक, मानशिक रुपमा कमजोर हुने हुँदा चाडै अरुको प्रभावमा परि नकारात्मकता तर्फ लम्किन सक्छन् । आफ्नो अभिष्ट पूरा गर्न राजनीतिक अपराधी हरुले खेलौनाको रुपमा प्रयोग गरेका दृष्टान्त हामीसंग प्रशस्त छन् । अरुको गोटी बन्दा जोखिम व्यवहारले युवाहरूलाई उनीहरूको सामान्य विकासमा समेत  बाधा पुर्‍याएर खाडीमा भासिन , लागूऔषधको दुर्वेसनमा फस्न वा अप्रिय निर्णय लिन वाध्य पारिरहेको छ ।

उनीहरुलाई यस्तो दलदलबाट वाहिर निकाल्न वरपरका मानिसहरुको भूमिका एकदम महत्वपुर्ण हुन्छ । यसका लागि वा रोकेर अभिभावकहरू, शिक्षकहरू र अन्य सम्बन्धित वयस्कहरू सचेत हुन जरुरि छ ।

चाखलाग्दो कुरा के छ भने, भर्खरै यस विषयको अध्ययन गर्दा मैले के पाए भने नकारात्मकता वा सकारात्मकता हाम्रो शरीरमा रसायनको चयनमा निर्भर छ । ती अध्ययनहरुले देखाए अनुसार  हाम्रो शरीरमा कोर्टिसोल भनिने एक रसायन छ जुन तनाव स्तर संग सम्बन्धित छ। यदि कोर्टिसोलको मात्रा  तपाईंको दिमागमा छ भने नकारात्मक विचारहरूलाई प्रोत्साहित गर्दछ।

युवाहरुमा व्याप्त जोखिमपूर्ण व्यवहारहरु

·        आत्म-घातक व्यवहार, हिंसा, र आत्महत्या

·        जोखिमपूर्ण  गाडी चलाई

·        सुर्ती, चुरोट, रक्सी र लागुपदार्थको बढ्दो प्रयोग

·        जोखिमपूर्ण  र असुरक्षित यौन  सम्वन्ध

·        स्कुल, कलेज र घरमै पनि यौन हिंसा

·        असुरक्षित खानपान

·        मानसिक समस्याको व्यवस्थापनमा कमजोरी

वयस्कहरुमा युवाहरु प्रति नकारात्मक धारणा

वयस्कहरुमा गरिएको विभिन्न अनुसन्धानहरुले देखाए अनुसार वहुमत वयस्कहरूले अचेलका किशोरहरु  असभ्य र गैरजिम्मेवार हुँदै गएको विस्वास गर्छन् । यद्यपि केही मानिसहरूले सकारात्मक दृष्टिकोणलाई अँगालेपनि धेरैले  युवाहरूलाई शंकास्पद रूपमा हेर्छन्। यद्यपि वयस्कहरूले आफूले चिनेका युवाहरूलाई माया र समर्थन गर्न सक्ने भए तापनि "औसत" युवाहरूको बारेमा सोध्दा—उनीहरू "गैरजिम्मेवार," "आलसी," र "नियन्त्रण बाहिर रहेको वताउने गर्दछन् ।  यसको कारणहरु केलाउदा निम्न रुपमा विवेचना गर्न सकिन्छ :

·        पुस्ताको भिन्नता: युवाहरु प्रतिको यस्तो धारणा को प्रमुख कारण पुस्ताको भिन्नता हो ।  समाजको एउटा तप्काको सोच अनुसार युवाहरु पर्याप्त रुपमा  संवेदनशील छैनन्। ३०-४० वर्षको दौरान युवाहरुको सोचाई र भूमिकामा आमुल परिवर्तन भएको छ ।   यस दौरान युवाहरुको  आर्थिक मूल्यमा  परिवर्तन भएको छ। आधुनिक युवाहरूले सामान्यतया परिवार र समाजको आर्थिक स्थायित्व र जीवन्ततामा विगतका आफ्ना आमा बुवाहरु युवा हुँदाको अवस्था भन्दा कम योगदान गरेका छन् । सो अवस्थामा एक युवा व्यक्तिको कमाई मुख्यतया पारिवारिक प्रणालीलाई निरन्तरता दिनमा निर्देशित हुन्थियो । तर समय बदलिएसँगै युवाको आर्थिक भूमिका पनि उत्तिकै रह्यो । आजका युवाहरूको सो भूमिकामा परिवर्तन भएको चाही सत्य हो । ठूला व्यवसायहरूले नाफाको लागि युवाहरूको स्वादको शोषण गर्छन् भने  युवाहरू आफैं, सामानहरूको मिडिया संतृप्तिबाट प्रलोभनमा परि वा  रमाईलो र मनोरन्जनको लागि "अतिरिक्त" पैसा खर्च गर्न लालायित हुन्छन्।

·        मिडिया प्रभाव: युवाहरुलाई  हेर्ने दृष्टिकोणमा मिडियाले गहिरो प्रभाव पार्छ। तथ्याङ्कले  देखाए अनुसार मनोरञ्जन र समाचार  प्रसार गर्ने मिडियाहरुले  युवाहरूप्रति नकारात्मक दृष्टिकोण दिने गर्दछन् । उदाहरणका लागि, किशोर हिंसा र आलस्यका विवरणहरू अतिरञ्जित छन्। समाचारहरुमा होस् चाहे मनोरंजन्त्मक कार्यक्रमहरुमा हिँसा, यौन वा यस्तै सामाग्रीहरुमा जोड दिइइको छ । मुलधार भनिने केहि मिडियाहरुमा सेलिब्रेटी भनाउदाहरुलाइ बोलाइ कति वोटा गर्लफ्रेन्ड/व्यईफ्रेन्ड छन्, भर्जिन हो कि हैन जस्ता अनाहक किसिमका प्रश्न गरिन्छ । अतिरन्जित वनाउन सके TRP बढ्ने कुरा हुने हुँदा समाजले पनि देखिएका सवै कुरा साचो मान्दा युवाहरूलाई नकारात्मक रूपमा हेर्ने वयस्कहरूको संख्या बढेको छ।

·        चयनात्मक स्मरण: वयस्कहरूले सामान्य किशोर अनुभवलाई नकारात्मक रूपमा वर्णन गर्ने गर्दछन् किनभने उनीहरूले आफ्नो किशोरावस्था कस्तो थियो भन्ने बिर्सन्छन्। धेरैले किशोरावस्थाको दैनिक संघर्षको प्रभावलाइ एकदम महत्वका साथ प्रस्तुत गर्छन् तर सो समयको अध्यारो पहेलुलाई लुकाउछन्  ।

यस्तो नकारात्मकतालाइ कसरि व्यवस्थापन गर्ने ?

किशोरहरू स्वाभाविक रूपमा अधिक स्वतन्त्रता खोज्छन्। सो को अभावमा द्वन्द्व र प्रतिरोध उत्पन्न भए पनि त्यसलाई निम्नलिखित अवधारणा प्रयोग गर्दै व्यवस्थापन गर्नु पर्छ :

१.    उचित निगरानी गर्नु:  आमाबाबुले आफ्ना बच्चाहरूलाई निगरानी गर्न एकदम आवस्यक छ । आफ्ना छोराछोरीको ट्रयाक राख्न प्रयास गर्नुपर्छ, उनीहरु कहाँ जान्छन् , तिनीहरू कहाँ छन्, तिनीहरूका साथीहरू को हुन्, के के गतिविधि गर्छन् र उनीहरु विद्यालयमा कसरी पढिरहेका छन् आदि कुराहरुमा एकदम ख्याल राख्नुपर्छ  । बालबालिका र युवाहरूको कल्याणको लागि अभिभावकीय निगरानीले उनीहरुमा बढ्न सक्ने नकारात्मक सोच र घटनाहरुलाई व्यवस्थापन गर्न सहयोग गर्छ । किशोरकिशोरीहरुलाई   अनुगमन गर्दा जोखिमबाट टाढा रहने सम्भावना बढी हुन्छ, व्यवहार र विद्यालयमा राम्रो गर्ने सम्भावना बढी हुन्छ।

२.    स्पष्ट रूपमा अपेक्षाहरू बारे संवाद गर्नुहोस्:  किशोरकिशोरीहरूले आफ्ना आमाबाबुको दिमाग पढ्न नसक्ने हुनाले, आमाबाबुले व्यवहारको सन्दर्भमा आफ्ना अपेक्षाहरू स्पष्ट रूपमा आफ्नो वाल  सञ्चार गर्नु पर्छ। आमाबाबुले पनि के अपेक्षाहरू कुराकानी योग्य छन् र के हुन् भन्ने बारे स्पष्ट हुन आवश्यक छ ।

३.    महत्त्वपूर्ण कुरामा ध्यान दिनुहोस् : ।किशोरावस्था भनेको समय हो जहाँ किशोर किशोरी हरु आफ्नो  पहिचान खोज्ने र विभिन्न प्रयोगको खोजीमा हुन्छन् । आफुले चाहेको कुरा पूरा हुनैपर्छ भन्ने मान्यतामा हुन्छन् । सो हुन नसक्दा कुनै अप्रिय निर्णय पनि लिन पछि पर्दैनन् । त्यसैले आफ्नो वच्चा यस्तै अवस्थामा छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् । सन्तानहरुको मनोभावना बुझ्न उनीहरुको साथी जस्तो हुन जरुरि छ ।

४.    पर्याप्त समय दिनुहोस् : कतिपय अभिभावकहरुले आफ्नो भूमिकाहरूमा  सक्रियता देखाउन नसक्दा बच्चाहरु एक्लो महसुस गर्छन्   । ऊ संग टन्न पैसा त हुन्छ तर मनको पिडा वा समस्यामा उचित सल्लाह दिने कोहि भेट्दैन । मनको भडास निकाल्न ऊ लागुपदार्थको दुर्वेसनमा फस्छ । यस्तो अवस्था आमाबाबुको लागि चिन्ताजनक हुन सक्छ। तर किशोरावस्थालाई यो अवस्था झन्  पीडादायी हुन्छ । एक्लोपनले गर्दा अन्य विभिन्न मानसिक समस्याहरु र आत्महत्या जस्ता समस्या  पनि आउन सक्ने हुनाले अभिभावकले आफ्नो सन्तति हरुलाई वेला वेलामा परामर्श सहित उचित समय दिनुहोस् ।

५.     आफ्नो सन्तानहरुको कुरा सुन्नुहोस्: आमाबाबुहरुले  आफ्नो सन्तानहरुको कुरा पनि सुन्न जरुरि छ। प्राय अभिभावकहरुले आफ्नो सन्तानहरु ले भोगिरहेको दवाव र अन्य समस्याहरुलाई कम आंकलन गरिरहेका हुन्छन् । किशोरकिशोरीहरूको समस्या  सुन्दै र तिनीहरूको मूल्याङ्कन गर्दै प्रभावकारी सञ्चारलाई बढावा दिन सक्दा समय रहदै समस्याको उचित समाधान गर्न सकिन्छ ।

६.    सकारात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहन गर्नुहोस् : नकारात्मक व्यवहारलाई निरुत्साहित गर्ने प्रभावकारी तरिका भनेको सकारात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहित गर्नु पनि हो । त्यस्ता गतिविधिहरुले उनीहरुमा उर्जा भर्न मदत गर्छ साथै  विभिन्न दक्षताहरूको विकासलाई समेत प्रोत्साहित गर्दछ । साथै यस्ता सीपहरुले उनीहरुमा सकारात्मकता प्रष्फुटित गर्न सहयोग गर्छ । यस्तो हुनाले अम्मलीमा फस्ने सम्भावना समेत कम हुने गर्छ ।

७.    आफ्नो निर्णय नथोपर्नुहोस् : युवाहरु भविस्यका कर्णधार हुन् । उनीहरुमा आफ्नै किसिमको सिप हुने गर्छ । सो सिप अनुसार उनीहरुलाई विकास गर्नु पर्छ । तर यस्तोमा उनीहरुलाई मार्गदर्शन गर्नु पर्ने मा आफ्नो निर्णय लादिने गर्छ जसले गर्दा उनीहरुमा नैरास्यता विकास हुन्छ । यो विकसित हुदै जाँदा डिप्रेसन, दुर्वेसन, आत्महत्या जस्ता घटनाहरु वृद्दी हुदै गएको छ त्यसैले उचित परामर्श सहितको मार्गदर्शन गर्न आवस्यक छ ।

अन्त्यमा

अहिलेको यो हाइटेक युगमा प्रविधिको द्रुत विकासले मान्छेहरुलाई सूचना र जानकारीको कुनै कमि छैन । सामाजिक संजालमा युवाहरु मात्र नभई सवै उमेरका मानिसहरु पनि जोडिन पुगेका छन्  । यसले गर्दा सो संजालको विकृत रुप पनि विकास हुँदा नकारात्मकता को पनि अधिक संचार भएको छ जसले युवाहरुलाई नराम्रो संग गाजेको छ । यसको समेत उचित व्यवस्थापन गरि युवा चिन्तन र आक्रोसलाई समाज परिवर्तनमा केन्द्रित गराउन सवैको ध्यान पुग्न सकेको खण्डमा समाज पनि परिवर्तित भै समुन्नत भविस्य  निर्माण हुनेछ ।

 

 

1 Comments:

At April 9, 2022 at 9:43 AM , Blogger agrirajendra said...

सान्दर्भिक छ सर यो ब्लग हजुरको।।।

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home